
आजको मानसिक समस्या
आजको मानसिक समस्या
मानव शरीर विभिन्न अवयव र तत्त्वहरूको अनुकूलित सन्तुलित रूप हो । यसमा शारीरिक, मानसिक, सामाजिक साथसाथै आध्यामिक पक्ष पनि जोडिएर आउँछ । विज्ञानले शारीरिक स्वास्थ्यको क्षेत्रमा अथाह उपलब्धि हासिल गरेको भए तापनि मानसिक स्वास्थ्यका क्षेत्रमा ठुलो फड्को मार्न सकेको छैन । मानव स्वास्थ्यका लागि सबै तत्त्वहरूको समानुपातिक संयोजन हुनु जरुरी छ । सचेतनाको लागि गरिएका कार्यक्रमका प्रभावका बारेमा खोज अनुसन्धान र त्यसका लागि गरिएका प्रयासहरूको निरन्तरताले मात्र सकरात्मक नतिजाको अपेक्षा गर्न सकिन्छ ।
मानसिक स्वास्थ्यका लागि सचेतनालाई पहिलो प्राथमिकमा राखेर बृहत् रूपमा सबै वर्ग, समुदायको प्रतिनिधित्व गर्ने गरी प्रभावकारी रूपमा आवश्यक कार्यक्रम परिचालन गर्नपर्नेु कुरा प्रस्ट देखिन्छ । मानिसको बुझाइ र सोचाइको रूपान्तरणका लागि राष्ट्रिय रूपमा नै बहसहरू क्रियाशील ढङ्गले सञ्चालन गर्नुपर्ने देखिन्छ । आजको विश्वमा मानिसका लक्ष्य र चाहनाहरू अनगिन्ती रूपमा बढ्दै गईरहेका छन् । त्यससँगै थुप्रै चुनौतीहरू पनि थपिएका छन् । कुनै मानसिक समस्याको कारण यही हो भनेर यकिन गर्न निकै कठिन हुन्छ । मानसिक समस्याको दर तीव्र रूपले बढ्ने क्रम जारी छ । यसको समाधानका लागि गरिएका सङ्कल्प र प्रयासहरू पर्याप्त छैनन् । मानिसको मानसिक स्वास्थ्यप्रतिको गलत धारणालाई प्रतिस्थापन गर्न जरुरी छ । विद्यालय स्तरदेखि नै यसका बारेमा बुझाउँदै लानुपर्छ । हरेक व्यक्तिलार्इ यसका बारेमा ज्ञान दिनुपर्छ । जीवन जिउने कलाको बारेमा थाहा दिनुपर्छ । समाजका गलत धारणाको चिरफार गरेर सही र गलत पहिचान गरी त्यसका बारेमा बहस गर्नुपर्छ । थुनिएका मनका भावनाहरूलाई व्यक्त गर्ने तरिकाका बारेमा जानकारी दिनुपर्छ ।
मानसिक स्वास्थ्यप्रतिको समाजको दृष्टिकोणले पनि समस्याहरू बुझ्न झन् कठिन बनाइदिएको छ । हरेक मानिसको संवेदनशीलता फरकफरक हुने गर्छ । यी यावत् मानसिक विषयवस्तुलाई मध्यनजर गर्दै गर्दा अहिलेको अवस्थामा देखिने मानसिक समस्याका कारण र तिनले निकट भविष्यमा ल्याउने समस्याका बारेमा आफ्नो बुझाइ र भोगाइलाई यस लेखमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
परिवार छाडेर विदेशीनु : पारिवारिक वातावरणमा पाइने स्नेहको अभावमा बच्चादेखि नै मानसिक समस्याहरू देखिन थाल्छ । आमाबुबाले आफ्ना छोराछोरीलाई समय निकाल्न नसकेर अरुको भरमा छोड्नाले मानसिक समस्या बढ्न जान्छ । पारिवारिक वातावरण भन्दा पनि होस्टेल र आफन्तको घरमा राख्नाले बच्चाले जुन किसिमको पारिवारिक स्नेहपूर्ण वातावरण पाउनुपर्ने हो, त्यो पाउदैन । फलस्वरूप मानसिक समस्या देखिने खतरा बढ्छ ।
मोबाइल फोनको अत्यधिक प्रयोगः स्मार्टफोनले धेरै कुरामा सहायता प्रदान गरे पनि यसको अनावश्यक प्रयोगले किशोरकिशारीमा मानसिक समस्या बढ्नुमा ठूलो भूमिका खेलेको छ । नयाँ पिढीमा मानसिक समस्याले विकराल रूप लिने लगभग निश्चित छ । सानैदेखि बच्चा भुलाउने, फकाउने नाममा मोबाइलमा भिडियो देखाउने जसले गर्दा बिस्तारै खाना खाँदा अनि गेम खेल्ने बहानामा नराम्रो लत बसिसकेको हुन्छ । यसैगरी बच्चाको सामाजिक जीवनमा सङ्कुचन आउन थाल्छ । फलस्वरूप बच्चामा मानसिक समस्या देखिने दर प्रबल हुँदै जान्छ ।
गलत जीवनशैली: मानिसको जीवनमा शारीरिक वा मानसिक स्वास्थ्यमा देखिने समस्याका धेरै कारणहरू भएता पनि जीवनशैली मुख्य कारण हो । कलिलो उमेरदेखि बच्चालाई जङ् फुड्, पेय पदार्थ तथा अन्य खानेकुरा दिनाले बच्चाको मष्तिस्क राम्रोसँग विकास नहुने कुरा विभिन्न समयमा गरेका अध्ययनहरूले देखाएका छन् । त्यस्ता खानेकुरामा प्रयोग हुने रासायनिक पदार्थ स्वास्थ्यका लागि हानिकारक हुनुका साथै लत लगाउने खालको हुनाले यसप्रति आकर्षण बढ्ने गर्छ । जसले गर्दा उपभोक्ताहरूले सुषुप्त रूपमा आफुलाई रोगको सिकार बनाइरहेका हुन्छन् । शारीरिक व्यायाम गर्ने कुरालाई अनिवार्य मानेर व्यवहारमा लागु गर्नुपर्ने भए पनि यसलाई हलुका रूपमा लिने र प्रतिबद्ध भएर लागु गर्न नसक्नाले मानसिक रोग निम्त्याइ रहेको हुन्छ । मसालेदार स्वादिष्ट खानेकुरा, चिल्लो वा बोसोयुक्त खाद्यपदार्थ भरिएको भान्साले मानसिक स्वास्थ्य समस्यालाई आफूतिर आकर्षित गरिरहेको छ ।
छिटो धनी बन्ने चाहनाः आजभोलि मानिस समयसँगसँगै आफूलाई परिर्वतन गर्दै लैजान चाहन्छ । सार्थक जिन्दगी जिउनु भन्दा पनि देखावटीमै आफ्नो जीवन व्यतीत गर्ने शैलीले मानिसमा तनाव, चिन्ता, उदाससीनता जस्ता समस्या बढ्दो छ । अधिकांश मानिस धनी भएर विलासी जीवन जिउन चाहन्छ, जसले थप मानसिक समस्या पैदा हुनसक्ने अवस्था सिर्जना हुन्छ । मानिस दुःख पाएको कल्पनासम्म गर्न पनि चाहँदैन । जसले मानसिक समस्याको संवेदनशीलतामा बढावा दिइरहेको छ । आधुनिक मानिस सबै कुरा पैसाले किन्न सकिन्छ भन्ने मान्यता लिएर बाँचिरहेको हुन्छ जसले मानिसको सम्बन्धहरूमा दरार आउन थाल्छ र मानिस भौतिक सुखमा रमाउन सिक्छ । जुन सुखको तृष्णा कहिले मेटिँदैन । आवश्यकता भन्दा बढी भौतिक विलासिताको लालचले पीडा र चिन्ताको बोझ थपिन्छ ।
सफलताको गलत परिभाषाः मानिसले सफलतालाई गलत तरिकाले अर्थ लगाउने गर्छ । विदेश गएर पैसा कमाउनु, विश्वका धनी र अवसर भएका देशमा जानु, सरकारी जागिर खानु आदिलाई मात्र सफलता मान्ने कारणले बाँकी मानिसले आफू असफल भएको ठान्नाले पनि मानसिक समस्या देखिले दर बढ्दो छ । जसले गर्दा समाजमा आफूलाई कमजोर ठान्ने गर्छ । उक्त व्यक्तिले समाजमा आफ्नो आत्मसम्मान गुमाउँछ । सामान्य जस्तो लागे पनि यसले विस्तारै मानसिक समस्या देखिने सम्भावनालाई इङ्गित गर्छ ।
राज्यको नीति तथा कानूनको अभावः नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने राज्यको तर्फबाट आजसम्म ठोस कदम चालेको देखिँदैन । भएका प्रयासहरू मानसिक समस्या पहिचान गर्न पनि पर्याप्त छैनन् । मानसिक स्वास्थ्यका क्षेत्रमा सीमित व्यक्तिले मात्र आफ्नो पकड कायम गर्ने र नयाँ आउनेलाई निरुत्साहित गर्ने प्रवृत्ति हाबी छ । आधिकारिक एसोसिएसन्को नीति, कानून तथा सहायता एकदमै फितलो र कार्यान्वयन पक्षको कमजोरीले मानसिक स्वास्थ्यमा चाहे जति काम गर्न सकेको देखिँदैन ।
आफ्नो अस्तित्व स्वीकार गर्न नसक्नेः संसार विविधताले भरिपूर्ण छ । यहाँ मानिसको क्षमता, चाहना आदि फरकफरक हुन्छन् । मानिसले आफ्नो क्षमता र अस्तित्व स्वीकार गर्न नसक्नु पनि मानसिक समस्या निम्त्याउने अर्को कारण हो । अनावश्यक खर्च, अनुत्पादक क्षेत्रमा हुने लगानी, नेपालको परिवेशमा बसेर अमेरिकन/अस्ट्रेलियन जीवनशैली जिउन खोज्नु, टाटु खोप्ने, मनोरञ्जनमा गरिने अत्यधिक खर्च आदिले मानिसमा आर्थिक सङ्कट देखिन थाल्छ । व्यक्ति आफ्नो क्षमता भन्दा पनि समाजमा चलेको चलनको पछि लाग्न थाल्छ । झन् आर्थिक सङ्कटको बोझ थपिन्छ र मानसिक समस्याको सिकार बन्न पुग्छ ।
हरेक कुरामा सुविधा खोज्ने बानीः आजको विश्वले विज्ञान र प्रविधिको उच्चतम समयलाई बुझाउँछ । हरेक काम मेसिनमार्फत् द्रुत गतिमा न्युनतम जोखिमको साथमा सम्पन्न गरिन्छ । यसले एकातिर बृहत् रूपमा थुप्रै फाइदा भएको देखिएता पनि मानिसको स्वास्थ्यमा भने गम्भीर चुनौती थप्ने गरेको पाइएको छ । प्रविधिले गर्दा मानिसले गर्ने शारीरिक कामको मात्रामा कमी आए सँगै मानिसका लागि आवश्यक पर्ने व्यायामको कमीले मानिसमा शारीरिक र मानसिक समस्याको संवेदनशीलताको दर बढ्ने गरेको पाइएको छ । मानिसले गर्ने शारीरिक र मानसिक क्रियाकलापको सन्तुलन हुन जरुरी छ । यदि शारीरिक र मानसिक दुवै कार्यको सन्तुलन नभएमा मानसिक समस्या देखिने सम्भावना बढ्ने गरेको पाइएको छ । मानिस मेसिनले दिने सुविधासँग निर्भर हुने कुरा पनि दुर्भाग्य बन्दै गएको छ ।
अरुसँगको तुलनाः मानिस आफूलाई अरूसँग तुलना गरेर मूल्याङ्न गर्ने गर्छ । त्यो पनि नकरात्मक तरिकाले । परिवारले पनि आफ्ना छोराछोरीलाई तुलना गरेर त्यस्तै बन्न अनावश्यक तनाव दिने गर्छ । आफ्ना छोराछोरीको इच्छा र क्षमता भन्दा पनि अरूसँग दाँजेर हेर्नाले भावनामा ठेस लाग्ने गर्छ । त्यही मानसपलटमा भावनाका छालहरू बीचमा द्वन्द्व चलिरहेको हुन्छ । त्यस भावनालाई कदर गर्नुको सट्टा बेवास्ता गर्दिनाले झन् मानसिक समस्या बढ्ने गर्छ । किशोरकिशोरी अवस्था नै मानसिक समस्याको लागि जोखिमपूर्ण उमेर हो । यस अवस्थामा सचेत गराउने र सहयोग गर्नमा अभिभाविक र शिक्षकको महत्त्वपूर्ण भूमिका रहन्छ । अधिकांश शिक्षक र अभिभावक नै मानसिक स्वास्थ्यका बारेमा अज्ञात हुने हुनाले थप समस्या हुने गरेको पाइएको छ । भएका समस्यालाई गलत तरिकाले अर्थ्याउने र गम्भीर रूपमा ग्रहण नर्गनाले पनि मानसिक समस्या देखिने गर्छ ।
छोराछोरी हुर्काउने गलत तरिकाः मानसिक समस्याका लागि गर्भदेखिकै अवस्था र आमाको जीवनशैलीले धेरै हदसम्म मानसिक स्वास्थ्य कस्तो रहने भन्ने कुरा निर्धारण हुने गर्छ । त्यसपछि बच्चालाई हुर्काउने र बढाउने क्रममा अनावश्यक हेरचाह, चाहिने भन्दा बढी माया र सुरक्षा प्रदान गर्नाले बच्चाको आत्मविश्वास घट्नुका साथै अरुको भरमा बाँच्ने बानी पर्दै जान्छ । यस्ता बालबालिका भविष्यमा जोखिम मोल्न सक्दैनन् र शारीरिक अवस्था मजबुत हुँदाहुदै पनि मानसिक अपाङ्ग बन्न पुग्छन् । आफ्ना छोराछारीले गरेका नराम्रा कामको नजरअन्दाज गर्ने र बचाउ गर्ने आमाबुबाले जानीनजानी आफ्ना छोराछोरीको मानसिकता कमजोर बनाउँदै लगेका हुन्छन् । आफ्ना छोराछोरीले जे गरे पनि सही र अरुका बच्चाले गऱ्यो भने गलत मान्ने प्रवृत्ति हावी छ । यी यावत् किसिमका व्यवहारले बच्चाको मानसिकता कमजोर बन्दै जान्छ ।
उल्लिखित विभिन्न कारणहरूले समसायमिक परिवेशमा प्रखर रूपमा मानसिक समस्या वृद्धि गराउन टेवा पुऱ्याएको देखिन्छ । भावनासँग जोडिएका कुरा बेवास्ता गर्ने प्रवृत्तिले मानसिक स्वास्थ्य बहसको बिषय बनिरहेको पाइँदैन । राज्यले मानसिक स्वास्थ्यका क्षेत्रमा खोज अनुसन्धान सहितको आवश्यक प्रभावकारी कानून बनाउन चासो देखाएको छैन । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले यस क्षेत्रमा गरेको प्रयास मानसिक स्वास्थ्यका लागि सार्थक भूमिकामा देखिएको छैन । यसका लागि परिवार, साथीभाइ, विद्यालय तथा समाजको निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । परिवारको वातावरण, परिवारका सदस्यहरूबीचको सम्बन्ध, परिवारको सदस्य सङ्ख्या, परिवारको प्रकार आदिले हुर्किँदै गरेको बच्चाको मानसिक अवस्था कस्तो रहने भन्ने कुरा केही हदसम्म तय हुने गर्छ । पारिवारिक कलह, घरेलु हिंसा आदिले बच्चाको मानसिकतालाई गलत दिशामा डोऱ्याएको हुन्छ । त्यस्तै गरी साथीहरूको सरसङ्गतले पनि मानसिकता कुन बाटो लाग्ने कुरा निर्धारण गर्छ ।
विद्यालयमा बच्चाले अधिकांश समय बिताउने गर्छ । विद्यालयमा साथीहरूले र शिक्षकशिक्षिकले गर्ने व्यवहार मानसिक स्वास्थ्यमा असर पार्ने महत्वपूर्ण तत्त्व हो । शिक्षकहरूले अध्यापन गराउँदा बच्चाको मनोवैज्ञानिक पक्षलाई समेत ध्यानमा राख्नाले पनि मानसिक स्वास्थ्यलाई मजबुत बनाउने आधार तय हुन्छ। विद्यालयमा मनोसामाजिक परामर्शको व्यवस्था अर्को उत्तम विकल्प हो । पालिकाको समन्वयमा परामर्शकर्ताको उपलब्धताले विद्यालयलाई सहज हुने गर्छ । बेला बेलामा अभिभावकलाई मानसिक स्वास्थ्यको सम्बन्धी अर्न्तक्रिया कार्यक्रममा सहभागी गराएमा वातावरण थप सहज बन्छ। यसैगरी मानसिक स्वास्थ्यको बिरामीको पहिचान गरी आवश्यक उपचार गर्दै भविष्यमा आउने मानसिक स्वास्थ्यका जोखिमलाई मध्यनजर गर्दै आवश्यक व्यवस्था गर्दै लैजाँदा मानसिक स्वास्थ्यको असरलाई कम गर्दै लान सकिन्छ ।